नेपालमा बीवाइडी एटो वानको अपडेटेड मोडल बिक्री सुरु भएको छ। नेपालका लागि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा नयाँ एटो वान सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो।
३६० डिग्री क्यामेरा र फोल्डेबल ओआरभीएम थप
अपडेटेड एटो वानमा ३६० डिग्री क्यामेरा र फोल्डेबल ओआरभीएम थप गरिएको छ। कम्पनीका अनुसार यी सुविधाले दैनिक ड्राइभिङलाई थप सहज र सुविधायुक्त बनाउनेछ। नयाँ मोडलमा यी सुविधाबाहेक अन्य प्रमुख फिचर भने अघिल्लो मोडलमै उपलब्ध रहेका छन्।
कम्पनीले एटो वानलाई डाइनामिक र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध गराएको छ। डाइनामिकको मूल्य ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ।
डाइनामिकमा ३०.०८ किलोवाट आवर र प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। एनईडीसी परीक्षणअनुसार यी भेरियन्टले क्रमशः २३० र ३०० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। दुवैमा ४५ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ भने एसी र डीसी चार्जिङ सपोर्ट उपलब्ध छ।
३७८० एमएम लम्बाइ, १७१५ एमएम चौडाइ र १५८० एमएम उचाइ रहेको एटो वानमा २५०० एमएमको ह्वीलबेस छ। कारमा १०.१ इन्चको टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो र ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले उपलब्ध छन्।











