समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको जनाएको छ। समिति गठन भएपछि पूर्ण तथा आंशिक भुक्तानी र बचत मिलानमार्फत उक्त सङ्ख्याका बचतकर्ताको समस्या समाधान गरिएको समितिका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिनुभयो।
अध्यक्ष आचार्यका अनुसार समितिसँग ७६ हजार बचतकर्तालाई करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व छ। सम्बन्धित सहकारीको सम्पत्ति यकिन गर्ने र उपलब्ध स्रोत परिचालन गरी रकम फिर्ताको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो।
साना बचतकर्तालाई प्राथमिकता
सर्वोच्च अदालतको निर्णय, सहकारीसम्बन्धी कानुनी व्यवस्था र बचत फिर्तासम्बन्धी कार्यविधिलाई आधार बनाएर रकम वितरण भइरहेको समितिले जनाएको छ। पहिलो चरणमा १० हजार रुपैयाँ वा सोभन्दा कम बचत भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ। ज्येष्ठ नागरिक, एकल महिला, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा जटिल प्रकृतिका रोगबाट पीडित बचतकर्तालाई पनि प्राथमिकता दिइनेछ।
समितिका अनुसार विभिन्न सहकारीबाट हालसम्म ४२ करोड रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये कान्तिपुर सहकारीबाट करिब १२ करोड रुपैयाँ रहेको छ। एक करोडदेखि १२ करोड रुपैयाँसम्म जम्मा भएका सहकारीलाई समेटेर दसैँअघि रकम वितरण गर्ने योजना बनाइएको छ।
ऋणीको सम्पत्ति लिलाम गरेर रकम सङ्कलन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ। हालसम्म करिब ३५० लालपुर्जा सङ्कलन गरिएको र एउटा सम्पत्तिको लिलामी सूचना प्रकाशित भइसकेको अध्यक्ष आचार्यले बताउनुभयो।
स्रोतबाट रकम सङ्कलन भएपछि कम्तीमा प्रत्येक छ महिनामा एक अर्ब रुपैयाँभन्दा बढी रकम जुटे सम्बन्धित बचतकर्तालाई दामासाहीका आधारमा वितरण गर्ने समितिको योजना छ। यसका लागि कानुनी र कार्यविधिगत सुधार आवश्यक रहेको समितिले जनाएको छ।
कान्तिपुरका बचतकर्तालाई २५ हजार, गोर्खा बचतका बचतकर्तालाई १७ हजार तथा प्यासिफिकका बचतकर्तालाई १२ हजार ६०० रुपैयाँका दरले रकम वितरण भइरहेको छ।











