२८ श्रावण २०८३, बिहीबार
Follow us :

भेरीमा जिप खस्यो, दुई यात्रु बेपत्ता

सल्यानको बाङ्गिरहमा सडकबाट ५० मिटर तल खसेको जिप र यात्रुको खोजीमा गोताखोर परिचालन

कान्तिपुर प्रेस

सल्यान। छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिकै भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा जिप चालकसहित दुई जना जिपसँगै नदीमा बेपत्ता भएका हुन्।

बुधबार दिउँसो करिब २ बजे सडकबाट करिब ५० मिटर तल खसेको लु.१ ज ३०२२ नम्बरको बोलेरो जिप भेरी नदीमा खसेको थियो। जिपमा चार जना सवार रहेकोमा दुई जना पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए। दुई जना भने जिपसहित बेपत्ता छन्।

बेपत्ता हुनेमा कुमाख गाउँपालिका–५ का २३ वर्षीय हेमराज बुढाथोकी र सिद्धकुमाख गाउँपालिका–४ का २३ वर्षीय भीमबहादुर राना रहेका छन्। बुढाथोकी जिप चालक र राना जिपधनी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

दुर्घटनापछि बुधबार साँझसम्म खोजी गरिए पनि भेरी नदीको तीव्र बहाव र गहिराइका कारण खोजी कार्य स्थगित गरिएको थियो। बिहीबार बिहानदेखि डुङ्गा तथा गोताखोर टोली परिचालन गरी खोजी कार्य पुनः सुरु गरिएको प्रहरीले जनाएको छ।

दिनभर खोज्दा पनि भेटिएन जिप

बिहीबार दिनभर गोताखोर टोलीले जिप खसेको स्थान आसपास भेरी नदीभित्र तथा नदी किनारका क्षेत्रमा खोजी गरे पनि जिप र बेपत्ता दुई यात्रुको अवस्था पत्ता लाग्न सकेन। नदीको तीव्र बहाव र गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपमा सवार वनगाड कुपिण्डे नगरपालिका–१ का प्रेम विक र खुमलाल बुढाथोकी पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए। उनीहरूको उपचार बुधबार अस्पतालमा गरिएको थियो। उपचारपछि उनीहरूलाई सोही दिन अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। बेपत्ता दुई जना तथा जिपको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

२८ श्रावण २०८३, बिहीबार २२:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०