काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वदेश फिर्तीको स्वागत गर्दै समसामयिक राजनीतिक तथा सामाजिक विषयमा चार महत्वपूर्ण निर्णय गरेको छ।
सभापति गगनकुमार थापाको अध्यक्षतामा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका देउवाको पूर्ण स्वास्थ्यलाभको कामना गरेको छ। विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै गतिशील कांग्रेस निर्माणमा देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वाससमेत बैठकले व्यक्त गरेको छ।
किशोर श्रेष्ठको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति
बैठकले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई मध्यराति गरिएको गिरफ्तारी, पत्रिका कार्यालयमा गरिएको खानतलासी तथा अदालतमा उपस्थित गराउँदा हत्कडी लगाइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
कांग्रेसले उक्त घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने र नागरिकको सुसूचित हुने अधिकार कुण्ठित गर्ने राज्यको नियतका रूपमा लिएको जनाएको छ। कानुन उल्लङ्घन भए अनुसन्धान र कारबाही स्वाभाविक भए पनि स्थापित कानुनी प्रक्रिया र संवैधानिक विधि मिचेर पत्रकारलाई पक्राउ गर्ने तथा कार्यालयमा खानतलासी गर्ने कार्य स्वीकार्य नहुने कांग्रेसको भनाइ छ।
संसदीय मर्यादा र रोल्पा घटनामा सरकारको ध्यानाकर्षण
सार्वजनिक लेखा समितिमा सत्तारूढ दलका सांसदबाट भएको भनिएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति पनि कांग्रेसले असहमति जनाएको छ। आफ्ना सांसदलाई संसद् र संसदीय समितिको मर्यादा कायम राख्दै तथ्य र विधिमा आधारित भएर प्रस्तुत हुन निर्देशन दिएको छ।
यसैगरी, रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबाडामा अविरल वर्षापछि गएको पहिरोमा सात जनाको मृत्यु भएको घटनाप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई राहत तथा पुनर्वास, घाइतेको उपचार र बेपत्ताको खोजी तीव्र पार्न सरकारसँग माग गरेको छ।
बैठकमा बिहीबार १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले अर्को बैठक साउन २९ गते शुक्रबार बिहान ११ बजे बस्ने कांग्रेसले जनाएको छ।











