२९ श्रावण २०८३, शुक्रबार
Follow us :

मन्दिरको जग्गा व्यक्तिको नाममा नामसारी गरेको आरोपमा मुद्दा

१० कठ्ठा ५ धुर जग्गा पुजारीको नाममा नामसारी, ३६ लाख १० हजार बिगो मागदाबी

कान्तिपुर प्रेस

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको नरसिंह भगवान् मन्दिरको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कीर्ते कागजात तयार गरी व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मन्दिरको जग्गा पुजारी र कर्मचारीको मिलोमतोमा हिनामिना भएको उजुरीमाथि अनुसन्धान गर्दा भ्रष्टाचार पुष्टि भएको जनाएको छ। अनुसन्धानअनुसार साविक भदगाउँ सिनवारी गाविस–४, हाल रामधुनी नगरपालिका–२ मा रहेको मन्दिरको १० कठ्ठा ५ धुर जग्गा तत्कालीन कर्मचारीको मिलेमतोमा पुजारी टिरु चौधरीको नाममा नामसारी गरिएको थियो।

जग्गा नामसारीका लागि साविक धरान नगरपालिका वडा कार्यालय र गाविस कार्यालयबाट झुटा सर्जमिन मुचुल्का तथा नाता प्रमाणितलगायतका नक्कली कागजात तयार गरिएको अख्तियारको दाबी छ। उक्त जग्गाको हालको न्यूनतम मूल्याङ्कन ३६ लाख १० हजार रुपैयाँ रहेको छ।

प्रकरणमा तत्कालीन प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, गाविस सचिव कपिलमणि दाहाल, मालपोत कार्यालयका तत्कालीन अधिकृतहरू सुशिल बैद्य, तुङ्गनाथ भण्डारी र केदारबहादुर कार्कीसहित पुजारी चौधरी, जग्गा कारोबारी पंकज घिमिरे र तत्कालीन वडा सचिव उत्तम आलेलाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगले प्रतिवादीहरूबाट ३६ लाख १० हजार रुपैयाँ बिगो असुल, कैद र जरिवानाको मागदाबी गरेको छ। साथै, व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा जफत गरी पुनः मन्दिरकै नाममा कायम गर्न माग गरिएको छ।

२९ श्रावण २०८३, शुक्रबार ११:३२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०