२९ श्रावण २०८३, शुक्रबार
Follow us :

एनआरएन इन्फ्रास्ट्रक्चर ७ करोड घाटामा, आम्दानी ९८% घट्यो

गत वर्ष १ अर्ब ४६ करोड नाफा गरेको कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक

कान्तिपुर प्रेस

काठमाडौं — एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार घाटामा गएको छ। गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको कम्पनीले यसपटक ७ करोड ७६ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो।

कम्पनीका अनुसार लगानीको मूल्यमा आएको गिरावट तथा कुल आम्दानीमा भएको तीव्र संकुचनका कारण वित्तीय अवस्था प्रभावित भएको हो। समीक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ५०.९० प्रतिशतले बढे पनि कुल आम्दानी भने ९८.५१ प्रतिशतले घटेको छ। यस अवधिमा कम्पनीको खर्च ३२.४३ प्रतिशतले बढेको वित्तीय विवरणमा उल्लेख छ।

गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ। यद्यपि प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ २३ पैसा कायम छ।

कम्पनीले जलविद्युत, पूर्वाधार तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी विस्तार गरिरहेको जनाएको छ। हाल कम्पनीले लगानी गरेका ६ जलविद्युत आयोजनामध्ये ५ वटा सञ्चालनमा आइसकेका छन्।

यसैगरी ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनामा ५१ प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ। आयोजनाबाट सन् २०२७ मार्च ५ सम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

बजारको उतारचढाव र वित्तीय असन्तुलनले पछिल्लो कार्यसम्पादन प्रभावित भए पनि कम्पनीले दीर्घकालीन लगानीबाट प्रतिफल बढाउने रणनीति अघि सारेको जनाएको छ।

२९ श्रावण २०८३, शुक्रबार ११:३८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०