२३ भाद्र २०८३, मंगलवार
Follow us :

सिटिजन्स बैंकको नाफा ६३ प्रतिशत बढ्यो, खराब कर्जा पनि उक्लियो

निक्षेप ९.५७ प्रतिशत बढ्दा कर्जा विस्तार ०.७६ प्रतिशतमा सीमित

कान्तिपुर प्रेस

काठमाडौं — सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा यस वर्ष ६३.०५ प्रतिशतले बढेको हो।

बैंकको नाफा वृद्धिमा कर्जा नोक्सानी व्यवस्थापनबापतको खर्च घट्नुले मुख्य योगदान गरेको छ। इम्पेयरमेन्ट शुल्कमा आएको कमीपछि सञ्चालन नाफामा सुधार भएको बैंकले जनाएको छ।

यद्यपि बैंकको मुख्य आम्दानी स्रोत खुद ब्याज आम्दानी भने घटेको छ। अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी करिब १.९ प्रतिशतले घटेर ६ अर्ब २९ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको निष्क्रिय कर्जा अनुपात पनि बढेको छ। खराब कर्जा ४.८९ प्रतिशतबाट बढेर ५.८८ प्रतिशत पुगेको हो। बढ्दो खराब कर्जाले आगामी दिनमा कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सुधार बैंकका लागि चुनौती बन्ने देखिएको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप ९.५७ प्रतिशतले बढेर २ खर्ब ३१ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। तर कर्जा तथा सापटी ०.७६ प्रतिशतले मात्रै बढेर १ खर्ब ७० अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५३ पैसा पुगेको छ। बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड तथा रिजर्भ र सञ्चित कोष ८ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।

२९ श्रावण २०८३, शुक्रबार ११:५८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०