काठमाडौं — कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विस्तारले नेपाली गीत–संगीत क्षेत्रको सिर्जना प्रक्रिया सहज बनाउँदै लगे पनि यससँगै सर्जकको रोजगारी, आम्दानी र बौद्धिक सम्पत्तिमाथि नयाँ जोखिम देखिन थालेको छ। प्रविधिको प्रयोग गरेर मौलिक गीतको शब्द, धुन, स्वर र संगीत संयोजनमा अनधिकृत परिवर्तन गरी सामाजिक सञ्जाल तथा भिडियो प्लेटफर्ममा सार्वजनिक गर्ने क्रम बढेपछि गीतकार, संगीतकार, गायक तथा निर्माताहरू चिन्तित छन्।
गत महिना कलाकार बिमल अधिकारीले आफ्ना गीत एआईको प्रयोग गरी तोडमोड गरेर युट्युबमा प्रसारण गर्ने ९५ वटा च्यानलमाथि कारबाहीको माग गर्दै साइबर ब्युरोमा उजुरी दिएको बताएका छन्। आफ्ना मौलिक सिर्जनामा अनधिकृत पहुँच गरी भाव, लय, सुर, ताल, बाजा, शब्द तथा स्वर परिवर्तन गरेर सामग्री बनाइएको उनको दाबी छ।
समस्या एउटा कलाकारमा मात्र सीमित छैन। एआईबाट तयार वा परिमार्जित सामग्री छोटो समयमा भाइरल हुँदा मौलिक सिर्जना ओझेलमा पर्ने र त्यसको आर्थिक लाभ वास्तविक सर्जकसम्म नपुग्ने अवस्था सिर्जना भइरहेको छ। विशेषगरी पुराना सर्जकका सिर्जनालाई एआईमार्फत परिवर्तन गरी नयाँ सामग्रीका रूपमा प्रस्तुत गर्दा पुस्तान्तरण र मौलिक सांगीतिक पहिचानमै असर पर्न सक्ने चिन्ता बढेको छ।

एआईको प्रभाव नेपालमा मात्र सीमित छैन। APRA AMCOS को २०२४ को अध्ययनअनुसार अस्ट्रेलिया र न्युजिल्यान्डका संगीत सर्जकको २३ प्रतिशतसम्म आम्दानी सन् २०२८ सम्म जेनेरेटिभ एआईका कारण जोखिममा पर्न सक्ने अनुमान गरिएको थियो। अध्ययनमा सहभागी ८२ प्रतिशत सर्जकले एआईका कारण आफ्नो सिर्जनाबाट जीविकोपार्जन गर्न कठिन हुन सक्ने चिन्ता व्यक्त गरेका थिए।
नेपाली संगीत उद्योगको बजार तुलनात्मक रूपमा सानो भएकाले यसको असर अझ गम्भीर हुन सक्छ। एउटा गीत तयार पार्न गीतकार, संगीतकार, गायक, एरेन्जर, वाद्यवादक, रेकर्डिस्ट, मिक्सिङ तथा मास्टरिङ प्राविधिकदेखि भिडियो निर्माणमा संलग्न धेरै व्यक्तिको श्रम र लगानी जोडिन्छ। एआईले तीमध्ये केही कामलाई केही क्षणमै प्रतिस्थापन गर्न थालेपछि उनीहरूको रोजगारी र आम्दानीमाथि प्रश्न उठेको छ।
एआईलाई पूर्ण रूपमा रोक्नु समाधान होइन। तर मौलिक सिर्जनाको अनुमति, श्रेय र रोयल्टी सुनिश्चित गर्ने व्यवस्था, डिजिटल साक्षरता अभिवृद्धि तथा सामाजिक सञ्जाल प्लेटफर्मको प्रभावकारी नियमन आवश्यक देखिन्छ। प्रविधि मानव सिर्जनाको विकल्प बन्ने होइन, सिर्जनालाई सहयोग गर्ने माध्यम बन्न सके मात्र एआई र गीत–संगीतबीचको सम्बन्ध दीर्घकालीन र न्यायपूर्ण बन्न सक्छ।











