ललितपुर । गोदावरी नगरपालिकाले वडा नम्बर १३ मा गोदावरी महिला उद्यम विकास प्रतिष्ठान सञ्चालनमा ल्याएको छ। महिलालाई सीप विकास, तालिम र उद्यमशीलतासँग जोड्ने उद्देश्यले निर्माण गरिएको प्रतिष्ठान भवनको आइतबार नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा नगरप्रमुख महर्जनले नगरपालिकाले यसअघि विभिन्न क्षेत्रमा सञ्चालन गर्दै आएका सीपमूलक तालिमलाई प्रतिष्ठानमार्फत व्यवस्थित रूपमा अघि बढाउने बताए। उनका अनुसार प्रतिष्ठानलाई तालिम केन्द्रका रूपमा विकास गरिनेछ।
नगरपालिकाबाट सञ्चालित विभिन्न तालिम लिएर धेरै महिला उद्यमी बनेको उल्लेख गर्दै उनले प्रतिष्ठानमा उत्पादन हुने सामग्रीलाई बजारसम्म पुर्याउन आगामी दिनमा थप पहल गरिने बताए।
नगर उपप्रमुख मुना अधिकारीले महिलाको आर्थिक आत्मनिर्भरताका लागि नगरपालिकाले सुरुदेखि नै आयआर्जनका कार्यक्रमलाई प्राथमिकता दिएको बताइन्। उनका अनुसार तालिमबाट उत्पादन भएका सामग्रीको बजारीकरणका लागि वडा नम्बर १० मा रहेको गोदावरी कोसेली घरलाई समेत उपयोग गरिनेछ।
उपप्रमुख अधिकारीले औपचारिक शिक्षाको अवसरबाट वञ्चित महिलालाई शिक्षासँग जोड्ने कामसमेत भइरहेको बताइन्। उनका अनुसार हाल ४८ जना स्नातक तहको अध्ययनमा छन् र उनीहरूलाई उद्यमशीलतासँग पनि जोडिएको छ।नगरपालिकाले यसअघि उक्त भवनलाई हिंसा प्रभावित महिलाका लागि आवासगृहका रूपमा विकास गर्ने योजना बनाएको थियो। तर सो प्रयोजनका लागि आवश्यकता नदेखिएपछि भवनलाई सीप तथा उद्यमसम्बन्धी तालिम सञ्चालन गर्ने केन्द्रका रूपमा प्रयोगमा ल्याइएको हो।
सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १० का अध्यक्ष शेखर न्यौपानेले प्रतिष्ठानको सञ्चालन, तालिम, तालिमबाट उत्पादित सामग्रीको बजारीकरणलगायत विषय समेटेर ऐनसमेत तयार गरिएको जानकारी दिए।
वडा नम्बर १३ का अध्यक्ष भास्कर थापाले तालिम, सीप, उद्यम र बजारीकरण एकअर्कासँग जोडिएको विषय भएकाले नगरपालिकाले उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताए।कार्यपालिका सदस्य लक्ष्मी महर्जनले स्थानीय कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरिएका सामग्रीमार्फत महिलालाई उद्यमशील बनाउन सकिने बताइन्।कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, उद्यमी महिला, विद्यार्थी तथा स्थानीय सरोकारवालाको सहभागिता थियो। नगरपालिकाका अनुसार प्रतिष्ठानमार्फत आगामी दिनमा सीप विकास र उद्यमशीलतासम्बन्धी कार्यक्रमलाई थप व्यवस्थित रूपमा अघि बढाइनेछ।












