३ भाद्र २०८३, बुधबार
Follow us :

१० वर्षदेखि अलपत्र मनाङको पुल, ७०% भुक्तानीपछि पनि काम ठप्प

मनाङको ङावल–हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बित्दा पनि अधुरै छ। ७० प्रतिशत भुक्तानी भए पनि निर्माण सुस्त छ।

कान्तिपुर प्रेस

मनाङ । मर्स्याङ्दी नदीमाथि बन्न लागेको मनाङ ङिस्याङ गाउँपालिका–३ ङावल र वडा नं. ४ हुम्डे जोड्ने मोटरेबल पुल निर्माण सम्झौता भएको १० वर्ष बितिसक्दा पनि अधुरै छ। पुल नबन्दा स्थानीयवासी मात्रै होइन, माथिल्लो मनाङ पुग्ने यात्रु र पर्यटकले समेत सास्ती खेपिरहेका छन्।

करिब चार करोड रुपैयाँ लागतमा निर्माण गर्ने गरी सम्झौता भएको पुलको काम विसं २०७३ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य थियो। तर पटक–पटक म्याद थपिए पनि निर्माणले गति लिन सकेको छैन।पूर्वाधार कार्यालयका अनुसार ठेकेदार कम्पनीले पुल निर्माणबापत करिब ७० प्रतिशत रकम भुक्तानी लिइसकेको छ। तर स्थलगत प्रगति भने अपेक्षाकृत न्यून रहेको कार्यालय प्रमुख हरि थापाले बताए। उनका अनुसार पुलको बिम उठाउनेबाहेक उल्लेख्य काम हुन सकेको छैन। “भुक्तानी भइसकेको छ, तर पुलको बिम उठाउनेबाहेक अरू काम भएको देखिँदैन,” थापाले भने।

पुल नहुँदा गाउँ पुग्नै सास्ती

ङावल र हुम्डे जोड्ने यो पुल स्थानीयवासीका लागि मात्र नभई माथिल्लो मनाङ जाने मुख्य सडकको महत्वपूर्ण पूर्वाधार हो। पुल निर्माण सम्पन्न भए गाउँपालिका कार्यालयसम्मको यात्रा केही मिनेटमै छोटिने स्थानीय मुखिया लामाले बताए। “पुल बनेपछि चार–पाँच मिनेटमै गाउँपालिका पुग्न सकिन्छ। अहिले पुल नहुँदा घरबाट गाउँपालिका पुग्न धेरै समय खर्चिनुपरेको छ,” उनले भने। मनाङ ङिस्याङ गाउँपालिका–३ का वडाध्यक्ष कृष्णबहादुर लामाले पुल निर्माणमा ठेकेदारसँगै सम्बन्धित कार्यालयले पनि पर्याप्त चासो नदिएको आरोप लगाए।

सम्झौता तोडेर नयाँ कम्पनी ल्याउन माग

पटक–पटक म्याद थप्दा पनि काम अघि नबढेपछि स्थानीयवासीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरी नयाँ कम्पनीमार्फत पुल निर्माण गर्न माग गरेका छन्। पुलमा भएको ढिलाइले अन्य विकास निर्माणका कामसमेत प्रभावित भएको उनीहरूको गुनासो छ।

गाउँपालिका अध्यक्ष कान्छा घलेले पनि निर्माण कम्पनीलाई पटक–पटक काम पूरा गर्न आग्रह गरे पनि अपेक्षित प्रगति नभएको बताए। जिल्ला अनुगमनका क्रममा सांसद एवं पूर्वमन्त्री टेकबहादुर गुरुङले निर्माण कम्पनीलाई तत्काल काम अघि बढाउन निर्देशन दिएका छन्। उनले पुल निर्माण सम्पन्न भएपछि मात्रै मूल्याङ्कनका आधारमा भुक्तानी दिन सम्बन्धित पूर्वाधार कार्यालयलाई निर्देशनसमेत दिएका छन्।

पूर्वसांसद पाल्देन छोम्पाङ गुरुङले पर्यटकीय क्षेत्र मनाङमा आवश्यक पूर्वाधार समयमै निर्माण हुन नसक्दा स्थानीयवासीसँगै पर्यटकसमेत प्रभावित भइरहेको बताए। समयमै पुल निर्माण भए आवतजावत सहज हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

३ भाद्र २०८३, बुधबार ०८:०१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०