७ भाद्र २०८३, आईतवार
Follow us :

योग, ध्यान र प्रकृति संरक्षणको सन्देशसहित गुञ्जनगरमा दिव्य वनभोज तथा पदयात्रा

कान्तिपुर प्रेस

चितवन । भरतपुर महानगरपालिका–१८, गुञ्जनगर स्थित गुञ्जनगर पतञ्जलि साधना केन्द्रले योग, प्राणायाम, ध्यान र प्रकृति संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले दिव्य वनभोज तथा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ।

भरतपुर–१६ कै पर्यटकीय क्षेत्रका रूपमा परिचित ज्ञानेश्वर सामुदायिक वन, सानो गडी परिसरमा आयोजित कार्यक्रममा योगप्रेमी, साधक–साधिका, जनप्रतिनिधि, बुद्धिजीवी, ज्येष्ठ नागरिक, समाजसेवी तथा पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

गुञ्जनगर पतञ्जलि याेग साधना केन्द्रले लामो समयदेखि गुञ्जनगर ग्रिनपार्क परिसरमा याेग, प्राणायाम र ध्यानमार्फत समुदायलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहने अभ्यास सिकाउँदै आएको छ। सडक र भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास पूरा नहुने भन्दै नागरिकको आर्थिक, सामाजिक, शारीरिक र मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने उद्देश्यले केन्द्रले यस्ता गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रम साधना केन्द्रका संरक्षक तथा भरतपुर–१८ का वडाध्यक्ष बाबुराम राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। पतञ्जलि योग समिति नेपालका पूर्व युवा संयोजक एवं केन्द्रीय सदस्य लोकनाथ खनाल प्रमुख अतिथि रहेका थिए।

कार्यक्रममा विभिन्न तहमा सक्रिय योग तथा आयुर्वेदका गुरु, साधक–साधिका, विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय समाजसेवी तथा योगप्रेमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुआत वैदिक मन्त्रोच्चारणका साथ गरिएको थियो। सहभागीहरूले योग, ध्यान र आध्यात्मिक अभ्यासले व्यक्तिको तन र मनलाई स्वस्थ राख्नुका साथै प्रकृति र वातावरणप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुग्ने बताएका थिए।

प्रमुख अतिथि खनालले योग र ध्यानको महत्वबारे चर्चा गर्दै आयुर्वेद, जडीबुटी तथा वातावरण संरक्षणलाई दैनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिए। कार्यक्रममा सहभागी विभिन्न गुरु तथा साधकहरूले पनि योगको महत्व र स्वस्थ जीवनशैलीबारे आफ्ना धारणा राखेका थिए।

केन्द्रका संयोजक तथा वातावरण एवं पर्यावरण अभियन्ता दयानिधि अर्यालले स्वागत मन्तव्य राख्दै उपचाररत दीपक भट्टराई र डण्डापाणि काफ्लेको शीघ्र स्वास्थ्यलाभ तथा दीर्घायुको कामना गरेका थिए।

कार्यक्रम सञ्चालन वडा सदस्य तथा गुञ्जनगर पतञ्जलि साधना केन्द्रकी सहसंरक्षक दिलकुमारी विश्वकर्माले गरेकी थिइन्।

कार्यक्रम सफल बनाउन यातायातलगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने जनप्रिय पब्लिक स्कुलका प्राचार्य भानुभक्त अर्याल, न्यू भिजन एकेडेमीका सञ्चालक बेदनिधि अर्याल, न्यू चित्रवनका प्राचार्य तुलसीराम पाण्डे, गुञ्जनगर रेडक्रस उपशाखाका अध्यक्ष तथा साधना केन्द्रका सचिव हरिराज अर्याल र विश्व हिन्दू परिषद् नेपालका बागमती प्रदेश सचिव एवं आईटी विज्ञ उपेन्द्र अर्याल लगायतलाई आयोजकले धन्यवाद व्यक्त गरेको थियो।

वनभोज र पदयात्रासँगै मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

गुञ्जनगर पतञ्जलि याेग साधना केन्द्रले यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै प्रकृतिप्रेम, वातावरण संरक्षण र आयुर्वेद तथा योगको सन्देश जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

 

 

७ भाद्र २०८३, आईतवार १८:५५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०