रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को कठिन परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
उनले बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न अपिल गरेका छन्।
लामिछानेले विपद्का बेला अप्रमाणित सूचना, हल्ला तथा अफवाह सामाजिक सञ्जालमा नफैलाउन पनि आग्रह गरेका छन्। उद्धार तथा राहतमा थप कठिनाइ नहोस् र नागरिकमा अनावश्यक त्रास नफैलियोस् भन्दै उनले आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमका सूचनालाई मात्र आधार बनाउन आग्रह गरेका हुन्।
उनले पार्टीका स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता, सदस्य तथा शुभेच्छुकलाई सम्बन्धित प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी कार्यमा सक्रिय हुन निर्देशन दिएका छन्।
‘नागरिकको जीवन रक्षा, सुरक्षित उद्धार र मानवीय सहयोग नै अहिलेको एउटै प्राथमिकता हो,’ लामिछानेले भनेका छन्।











