काठमाडौँ, भदौ १८ गते । भोटेकोशी हिमबाढीपछि उत्पन्न विपत्को सामना, प्रभावितको उद्धार तथा राहत र आगामी पुनर्निर्माणका लागि सरकारले मित्रराष्ट्रसँग राजनीतिक तथा कूटनीतिक समन्वयलाई तीव्र बनाएको छ। तत्काल आवश्यक राहत तथा उद्धार सामग्री जुटाउनदेखि विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणसम्मका विषयलाई प्राथमिकतामा राख्दै सरकारले विभिन्न मुलुकका उच्च नेतृत्वसँग वार्ता र समन्वय गरिरहेको हो।
प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न देशका आफ्ना समकक्षीसँग टेलिफोन संवाद गरिरहनुभएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले पनि विदेशी समकक्षी तथा उच्च तहका नेतृत्वसँग टेलिफोन र भर्चुअल संवादलाई निरन्तरता दिइरहनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बुधबार आयोजित पत्रकार सम्मेलनमा छिमेकी भारत र चीनसहित विभिन्न मित्रराष्ट्रसँग उच्चस्तरीय समन्वय भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार विदेशस्थित नेपाली कूटनीतिक नियोगलाई समेत सक्रिय बनाएर उद्धार, राहत, पुनर्स्थापना तथा आवश्यक सहयोग जुटाउने काम भइरहेको छ। सरकारले तत्काल उद्धार र राहतका कामसँगै बाढीबाट भएको क्षतिको प्रारम्भिक विश्लेषणसमेत अघि बढाएको मन्त्रालयले जनाएको छ।
३४ देशका नागरिक बेपत्ता
भोटेकोशी बाढीमा हालसम्म ३४ देशका नागरिक बेपत्ता भएको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। विदेशी नागरिकको उद्धार तथा खोजीका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशका निकायसँग समन्वय गरिरहेको छ। बाढीपछि शव पहिचान तथा डीएनए परीक्षणका लागि मित्रराष्ट्रबाट फरेन्सिक विशेषज्ञ र आवश्यक उपकरणसमेत नेपाल ल्याउने क्रम जारी छ। भारत, चीन र कोरियाबाट आएका फरेन्सिक विज्ञहरूले शव परीक्षण तथा पहिचान प्रक्रियामा सहयोग गरिरहेका छन्।











