ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँ कार्यपालिकाको भदौ १८ गते बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त सहयोग रकम गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिको सेवा सुविधा, गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी तथा विद्यालयका शिक्षक एवं कर्मचारीको तलब कट्टाबापतको रकमबाट जुटाइनेछ। त्यसरी संकलन हुने रकममा गाउँपालिकाको तर्फबाट थप रकमसमेत व्यवस्था गरी कुल ३० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो।
भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त निर्णय गरेको जनाएको छ।
गाउँपालिकाले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।
त्यस्तै, बाढीबाट घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिकाले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।
गाउँपालिकाले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था तथा अन्य सरोकारवाला पक्षको समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ।
यसै क्रममा बागमती गाउँपालिकाले प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन आफ्नो तर्फबाट पनि योगदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइने ३० लाख रुपैयाँ विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ।
गाउँपालिकाले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई सहयोग गर्न सरोकारवाला सबै पक्षलाई आग्रहसमेत गरेको छ। उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न सम्बन्धित सबैमा गाउँपालिकाले अनुरोध गरेको छ।
बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकहरी थापा र गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग गर्न आग्रह गरिएको छ।













