१९ कार्तिक २०८३, बिहीबार
Follow us :

फूल्चोकी माध्यमिक विद्यालयको सामाजिक परीक्षण तथा सार्वजनीकरण कार्यक्रम सम्पन्न

कान्तिपुर प्रेस

ललितपुरको गोदावरी नगरपालिका–१४, ठैवस्थित श्री फूल्चोकी माध्यमिक विद्यालयको आर्थिक वर्ष ०८२/८३ को विद्यालय सामाजिक परीक्षण तथा सार्वजनीकरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८ बमोजिम विद्यालयको शैक्षिक, आर्थिक, भौतिक तथा व्यवस्थापकीय पक्षको समीक्षा गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धि, पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्ने उद्देश्यले सामाजिक परीक्षण गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल कुमार पाण्डेले बताउनु भयो । परीक्षणका क्रममा विद्यालयको शैक्षिक उपलब्धि, विद्यार्थीको सिकाइ अवस्था, शिक्षक तथा कर्मचारीको व्यवस्थापन, विद्यालयको आयव्यय, भौतिक पूर्वाधार, शैक्षिक गतिविधि तथा सरोकारवालासँगको सम्बन्धलगायतका विषयलाई समेटिएको थियो।

सामाजिक परीक्षणले विद्यालयका सबल पक्षको पहिचान गर्नुका साथै सुधार गर्नुपर्ने पक्षहरू उजागर गरी आगामी दिनमा विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय सुधारका लागि मार्गनिर्देशन दिएकाले विद्यार्थीले विद्यालय छाड्ने दर नियन्त्रण गर्न र शैक्षिक सिकाइ उपलब्धि वृद्धि गर्न गोदावरी नगरपालिका शिक्षा शाखा वरिष्ठ विद्यालय निरीक्षक सुनीता महर्जन सुझाउनु भयो ।

उहाँले गोदावरी नगरपालिकाभित्रका विद्यालयहरूमध्ये फूल्चोकी माध्यमिक विद्यालयले विस्तृत प्रतिवेदन सार्वजनिक गर्नु र स्वमूल्याङ्कनमा उत्कृष्ट अङ्क प्राप्त गर्नुले नमूना विद्यालयको रुपमा आफूलाई प्रमाणित गरेको बताउनुभयो।

गोदावरी नगरपालिका वडा न. १४ का वडाध्यक्ष निरोज बज्राचार्यले कार्यक्रममा विद्यालयको प्रगति, उपलब्धि, चुनौती तथा सुधारका सम्भावित उपायबारे छलफल गर्दै विद्यालयको विकासमा शिक्षक, अभिभावक, व्यवस्थापन समिति, स्थानीय समुदाय तथा अन्य सरोकारवालाको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

विद्यालयले सामाजिक परीक्षणलाई औपचारिकतामा मात्र सीमित नराखी विद्यालयको गुणस्तर सुधार, सार्वजनिक जवाफदेहिता र शैक्षिक सुशासनको महत्वपूर्ण आधारका रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाउनु पर्ने सहभागीले बताएका छन् ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष धुर्वप्रसाद पोखरेलले कार्यक्रममा साथ दिने सबैलाई धन्यवाद दिँदै प्रतिवेदनले विद्यालयका लागि नयाँ मार्ग तय गर्न सघाएको बताउनुभयो।

विद्यालयका लेखा प्रमुख दुर्गादास श्रेष्ठले विद्यालयको आ.व.८२/ ८३ को आयव्यय सार्वजनिक गर्दै पारदर्शिता र जवाफदेहितालाई नै प्रमुख आधार मानेको बताउनु भयो । कानुन त नयाँ आर्थिक वर्षको पहिलो चौमासिक भित्र सामाजिक परीक्षण गर्नुपर्ने व्यवस्था छ।

१९ कार्तिक २०८३, बिहीबार १९:४८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०