६ बैशाख २०८३, आईतवार
Follow us :

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएपछि आन्तरिक छलफल गरेर अब चालिने कदमबारे परामर्श गर्न उनले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

नेता खड्काले शनिबार दिउँसो साढे ३ बजे निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक गोल्फुटारस्थित खड्का निवासमा बस्ने छ ।

सर्वोच्च अदालतले पार्टीको आधिकारितासम्बन्धी दायर रिट खारेज गरेपछि शनिबार बिहानैदेखि निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका थिए । खड्कासँग छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका थिए ।

स्रोतका अनुसार नेता खड्कासँग केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायतका नेताहरूले छलफल गरेका छन् ।

नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे वक्तव्यमार्फत् औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार आइतबारसम्म निर्वामान खड्काको औपचारिक धारणा सार्वजनिक हुने छ ।

५ बैशाख २०८३, शनिबार १४:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०