१७ जेष्ठ २०८३, आईतवार
Follow us :

गोदामचौर किसानलाई ५०% अनुदानमा आधुनिक कृषि उपकरण वितरण, उत्पादन वृद्धि अपेक्षा

कान्तिपुर प्रेस

ललितपुरको गोदावरी नगरपालिका–१, गोदामचौरमा स्थानीय किसानहरूको कृषि उत्पादन वृद्धि तथा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कृषि उपकरण वितरण गरिएको छ। लालुपाते महिला कृषि सहकारी संस्थाको समन्वयमा कृषि विकास कार्यालय, ललितपुरद्वारा आयोजित कार्यक्रममा ५० जना किसानलाई मिनीटिलर, प्लास्टिक टनेल, कम्बाइन मिल तथा इलेक्ट्रिक स्प्रे मेसिनलगायतका सामग्री ५० प्रतिशत लागत अनुदानमा प्रदान गरिएको हो।

 

कार्यक्रमअन्तर्गत कुल १६ लाख ३६ हजार ५ सय ७३ रुपैयाँ बराबरका कृषि सामग्री किसानहरूलाई हस्तान्तरण गरिएको कृषि विकास कार्यालयले जनाएको छ। वितरण गरिएका उपकरणहरूले विशेष गरी खेतीपातीमा समय र श्रम बचत गर्नुका साथै उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख तेज प्रसाद दवाडीले पछिल्लो समय कृषि क्षेत्रमा देखिएको श्रमशक्ति अभावलाई मध्यनजर गर्दै यस्ता प्रविधिमैत्री उपकरणहरू अत्यन्त उपयोगी हुने बताए। उनले किसानहरूलाई उपलब्ध गराइएका सामग्रीको सही प्रयोग गर्दै उत्पादन बढाउन र आत्मनिर्भर बन्न प्रेरित गरे।

त्यसैगरी, गोदावरी नगरपालिका–१ का वडा अध्यक्ष श्रीराज थापाले राज्यबाट प्राप्त हुने यस्ता सेवासुविधाबारे अन्य किसान तथा छिमेकीहरूलाई समेत जानकारी गराउन आग्रह गरे। उनले कामदार अभाव भएको अवस्थामा यस्ता उपकरणहरूले खेतीपातीलाई सहज बनाउने उल्लेख गर्दै उपकरणहरूको नियमित मर्मतसम्भार गर्न र एउटै व्यक्तिले पटक–पटक अनुदान नलिन सचेत गराए।

लालुपाते महिला कृषि सहकारी संस्थाकी अध्यक्ष लक्ष्मी कार्कीले अनुदानमा प्राप्त सामग्रीको दुरुपयोग नगर्न किसानहरूलाई आग्रह गरिन्। उनले विगतदेखि कृषि विकास कार्यालयसँग सहकार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरिन्।

स्थानीय किसानहरूले पनि यस्ता कार्यक्रमले कृषि पेशाप्रति आकर्षण बढाउने र आधुनिक तरिकाले खेती गर्न थप प्रेरणा मिल्ने बताएका छन्। उनीहरूले राज्यको सहयोगले लागत घट्दै उत्पादन वृद्धि हुने विश्वास व्यक्त गरेका छन्।

२३ बैशाख २०८३, बुधबार १२:४१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०