राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्य समिति ललितपुरको छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संगठनलाई नयाँ नेतृत्व प्रदान गर्दै सबिना दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।
अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै उपस्थित सदस्यहरूले नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। साथै, निवर्तमान अध्यक्ष सुवास महत लाई उहाँको कार्यकालमा संघलाई सक्रिय र संगठित रूपमा अघि बढाएको भन्दै विशेष धन्यवाद तथा सम्मान व्यक्त गरिएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, कलाकार, तथा संघका सदस्यहरूलाई पनि आयोजक पक्षले आभार प्रकट गरेको छ।
अधिवेशनमा संगीतकर्मीहरूको हकहित, पेशागत सुरक्षा, अवसर विस्तार तथा संस्थागत सुदृढीकरणका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले नेपाली संगीत क्षेत्रको विकासका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्ष सबिना दाहालले आफ्नो जिम्मेवारीप्रति गहिरो कृतज्ञता व्यक्त गर्दै संघलाई अझ सशक्त, पारदर्शी र सक्रिय बनाउने प्रतिबद्धता जनाएकी छन्। उहाँले संगीतकर्मीहरूको समस्या समाधान, नयाँ प्रतिभाको प्रोत्साहन तथा पेशागत अवसर सिर्जनामा विशेष ध्यान दिने बताएकी छन्।
नव निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः
अध्यक्ष: सबिना दाहाल
निवर्तमान अध्यक्ष: सुवास महत
वरिष्ठ उपाध्यक्ष: श्यामसुन्दर तिमल्सिना
प्रथम उपाध्यक्ष: रेश्मा तिमल्सिना (बुनुमैचा)
द्वितीय उपाध्यक्ष: रञ्जित सन्जेल
महिला उपाध्यक्ष: सदिक्षा बजगाईं
उपाध्यक्ष: एलिना बास्कोटा (उडीउडी चुप्पा)
सचिव: राजु तिमल्सिना
सहसचिव: रोमप्रसाद हुमागाईं (राजु)
सह–सचिव: भगवान भण्डारी
कोषाध्यक्ष: सृजना घिमिरे
सह–कोषाध्यक्ष: महेश महत
प्रवक्ता: दिनेश घिमिरे
सदस्यहरू: मनोज दाहाल, विश्वराम तिमल्सिना, सुरेश तिमल्सिना, मिलन बन्जारा, श्याम कुमार महत, सरस्वती महर्जन

कार्यक्रममा वक्ताहरूले संगीत क्षेत्र केवल मनोरञ्जनको माध्यम मात्र नभई संस्कृति, पहिचान र सामाजिक चेतनाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसलाई अझ संस्थागत र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए।
अधिवेशनले आगामी दिनमा संघलाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउँदै संगीतकर्मीहरूको हकहित संरक्षणमा अग्रणी भूमिका खेल्ने विश्वास लिइएको छ।











