जिल्ला समन्वय समिति महासंघ नेपालको छैठौँ राष्ट्रिय परिषद बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि देव फुयाँल महासंघको केन्द्रीय अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। हालै सम्पन्न विशेष अधिवेशन तथा निर्वाचन प्रक्रियाबाट फुयाँललाई महासंघको नयाँ सारथिका रूपमा सर्वसम्मत चयन गरिएको हो। संस्थाको विधान २०५२ (संशोधन सहित) बमोजिम निर्वाचन प्रक्रिया अघि बढाइएको निर्वाचन समितिले जानकारी दिएको छ। २०८३ असार २५ गते सम्पन्न राष्ट्रिय परिषद बैठकबाट गठित निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार तोकिएको समयभित्र उम्मेदवारी दर्ता तथा नामावली प्रकाशन प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गरिएको थियो।

विगत लामो समयदेखिको लोकतान्त्रिक अभ्यास र स्थापित परम्परा अनुसार यस पटक पनि राजनीतिक दलहरूबीचको सहमतिका आधारमा पद विभाजन गर्ने प्रचलनलाई निरन्तरता दिइएको छ। निर्वाचन समितिका अनुसार जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्दा राजनीतिक दलका आधारमा निर्वाचन हुने विगतको परम्परा रहेको र सो विषयमा यस पटक पनि कुनै विवाद वा मतभेद सिर्जना भएन। सोही दलीय सहमति र कार्यक्रममा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूको पूर्ण समर्थन तथा ऐक्यबद्धताका आधारमा नयाँ पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले स्पष्ट पारेको छ। यसले नेपाली राजनीति र स्थानीय तहका जनप्रतिनिधिहरूबीच आपसी समझदारी र सहकार्यको एउटा बलियो र अनुकरणीय सन्देश प्रवाह गरेको छ।

नवनिर्वाचित अध्यक्ष ऋषि देव फुयाँलले पदभार ग्रहण गर्दै महासंघलाई आगामी दिनमा अझ सशक्त, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जिल्ला समन्वय समिति महासंघ नेपालले संघीय संरचनामा स्थानीय तहहरूबीच समन्वय, सहकार्य र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने उद्देश्यसहित महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको स्मरण गरे। आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको पुलको रूपमा काम गर्दै स्थानीय स्वायत्त शासन र सङ्घीयताको जगलाई थप मजबुत बनाउन आफू र आफ्नो सम्पूर्ण टिम अहोरात्र खटिने उनले उल्लेख गरे।
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्नका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण केन्द्रीय पदाधिकारी, राष्ट्रिय परिषदका प्रतिनिधिहरू, दलका नेताहरू तथा सहयोगी कर्मचारी वर्गप्रति निर्वाचन समितिले विशेष आभार एवं धन्यवाद ज्ञापन गरेको छ।












