१८ असार २०८३, बिहीबार
Follow us :

अब नेपाल टेलिकमको सिम घरमै, साउन १ देखि हुलाकमार्फत डेलिभरी सेवा

आगामी साउन १ गतेदेखि ढुवानी सेवा सुरु हुने, सरकारी लक्ष्यलाई व्यवहारमा लागू गर्न दुई संस्थाको सहकार्य

आर्थिक ब्युरो

नेपाल टेलिकमका ग्राहकले अब कम्पनीका सिमकार्ड लगायतका सामग्री हुलाक सेवामार्फत आफ्नै घरदैलोमा प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराउँदै आएको सिमकार्ड, विभिन्न कागजात, चिठीपत्र र दूरसञ्चार सेवामा प्रयोग हुने विभिन्न स्पेयर पार्ट्स लगायतका सामग्री हुलाक सेवामार्फत ढुवानी गर्ने सम्बन्धमा दुई संस्थाबिच सम्झौता भएको छ ।

बिहीबार भएको सम्झौता अनुसार आगामी साउन १ गतेदेखि हुलाक सेवा विभागमार्फत यी सामग्रीको ढुवानी सेवा सुरु गरिनेछ । यससँगै नेपाल टेलिकमका सेवाग्राहीले चाहेमा कम्पनीका सिमकार्ड लगायतका अन्य आवश्यक सामग्री हुलाक सेवामार्फत सिधै आफ्नो घरदैलोमा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट निमित्त प्रबन्ध निर्देशक रीना डंगोल र हुलाक सेवा विभागको तर्फबाट महानिदेशक मनमायाँ भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् ।

सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै निमित्त प्रबन्ध निर्देशक डंगोलले नेपाल टेलिकमले सेवाग्राहीलाई कम्पनीको कार्यालयमा उपस्थित नभएरै पनि विभिन्न सेवा उपलब्ध गराउने कार्यलाई प्राथमिकता दिइरहेको बताइन् । “नेपाल टेलिकम र हुलाक सेवा विभागबिचको यो सहकार्य कम्पनीका सेवाग्राहीको हितका लागि प्रभावकारी हुनेछ,” उनले भनिन् ।

त्यसैगरी हुलाक सेवा विभागकी महानिदेशक मनमायाँ भट्टराई पंगेनीले जनताको घरदैलोमा सेवा पुर्‍याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागू गर्नका लागि विभागले विभिन्न कार्य गरिरहेको उल्लेख गरिन् । आगामी दिनमा नेपाल टेलिकमका सेवाग्राहीलाई अझ प्रभावकारी रूपमा सेवा प्रदान गर्न विभाग र कम्पनीबीचको सहकार्य अझै बढ्दै जाने उनको विश्वास छ । पङ्गेनीले भनिन्, “जनताको घरदैलोमा सेवा पुर्‍याउने सरकारी लक्ष्यलाई व्यवहारमा लागू गर्न विभाग प्रतिबद्ध छ ।”

१८ असार २०८३, बिहीबार २०:०१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०