१२ श्रावण २०८३, मंगलवार
Follow us :

सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

मुग्लिन नजिकै खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। रोकिएका सवारी गन्तव्यतर्फ अघि बढेका छन्।

कान्तिपुर प्रेस

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि सोमबार दिउँसो १:१५ बजेदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहान करिब ८:३० बजे करिब ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो हटाउन नारायणगढबाट लोडर, स्काभेटर र ब्याक–हु तथा मुग्लिनबाट समेत लोडर परिचालन गरिएको थियो।

प्रहरीका अनुसार पहिरो पूर्ण रूपमा हटाउनुअघि बिहान ११:१५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो। सो क्रममा एम्बुलेन्स, मोटरसाइकल तथा अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ आवतजावत गराइएको थियो।

पहिरो हटाएपछि अहिले सडक दुवैतर्फबाट सञ्चालनमा आएको छ। अवरोधका कारण सडकमा रोकिएका सवारीसाधन क्रमशः आफ्नो गन्तव्यतर्फ अघि बढिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

वर्षायामसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने जोखिम बढ्ने भएकाले सम्बन्धित निकायले यात्रु तथा चालकलाई सतर्कतापूर्वक यात्रा गर्न आग्रह गरेको छ।

१२ श्रावण २०८३, मंगलवार १३:५४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०