काठमाडौं। धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडा अध्यक्ष विजयकुमार यादवविरुद्ध सार्वजनिक प्रयोजनका लागि प्राप्त एम्बुलेन्स निजी प्रयोगमा लगाई आर्थिक अनियमितता गरेको आरोपमा १५ लाख ९ हजार २५० रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत आरोपपत्र दायर गरेको हो। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यादवले वडाका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्त एम्बुलेन्सलाई वडा कार्यालयको अभिलेखमा दाखिला नगरी आफ्नै नियन्त्रणमा राखी सञ्चालन गरेका थिए।
आयोगका अनुसार उक्त एम्बुलेन्सबाट आफूखुसी भाडा शुल्क उठाएर सार्वजनिक सम्पत्तिको हिनामिना गरिएको अनुसन्धानबाट खुलेको छ। आयोगले यसलाई सार्वजनिक सम्पत्तिको दुरुपयोग तथा भ्रष्टाचारजन्य कार्य ठहर गर्दै मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार २०७७ असोज १४ गते भएको सम्झौताअनुसार विदेह नगरपालिका–५ का वडाबासीलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले एम्बुलेन्स प्राप्त भएको थियो। तर उक्त एम्बुलेन्स वडा कार्यालयको जिन्सी विवरणमा आम्दानी नै नबाँधी यादवले आफ्नै नियन्त्रणमा राखेर सञ्चालन गरेको आयोगको दाबी छ।
आयोगले जारी गरेको विज्ञप्तिअनुसार एम्बुलेन्स सार्वजनिक सम्पत्ति भए पनि त्यसलाई सरकारी अभिलेखमा समावेश नगरिएको, व्यक्तिगत नियन्त्रणमा राखिएको तथा सेवा सञ्चालनका क्रममा भाडा असुल गरिएको पाइएको छ। यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना भएको निष्कर्षसहित आयोगले कानुनी कारबाही अघि बढाएको हो।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १५ लाख ९ हजार २५० रुपैयाँ बिगो कायम गर्दै सोही बराबरको जरिवाना तथा कानुनबमोजिम कैद सजायको मागदाबी गरेको छ। सोही मागसहित मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। अब उक्त मुद्दामाथि विशेष अदालतमा न्यायिक प्रक्रिया अघि बढ्नेछ। अदालतबाट अन्तिम फैसला नभएसम्म आरोपहरू न्यायिक परीक्षणकै चरणमा रहनेछन्।











