१२ श्रावण २०८३, मंगलवार
Follow us :

भारतीय विदेश मन्त्रालयद्वारा निम्तो पठाइएको जानकारी, लिपुलेकसहित तीन नाकाबाट व्यापार पुनः सञ्चालन हुने दाबी

भारतीय विदेश मन्त्रालयद्वारा निम्तो पठाइएको जानकारी, लिपुलेकसहित तीन नाकाबाट व्यापार पुनः सञ्चालन हुने दाबी

कान्तिपुर प्रेस

नयाँदिल्ली। भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई औपचारिक भ्रमणको निम्तो पठाइसकेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार नियमित पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो पठाइएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा नेपालबाट विशेष दूत भारत आएर सरोकारवालासँग वार्ता गरेको विषयमा पनि प्रश्न गरिएको थियो। त्यसबारे आफूलाई विस्तृत जानकारी नभएको प्रवक्ता जयसवालले बताए।सोही पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले चीनसँग भएको पूर्वसहमति अनुसार लिपुलेक, शिपकी ला र नाथू ला पासबाट सीमा व्यापार पुनः सञ्चालन गरिने बताएका छन्।

नेपालले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको लिपुलेकलाई भारतले भने आफ्नो क्षेत्रअन्तर्गत रहेको दाबी गर्दै आएको छ। लिपुलेक नाकाबाट चीनसँग व्यापार सञ्चालन गर्ने विषयमा नेपालले विगतदेखि नै आपत्ति जनाउँदै आएको छ।

चीनसँगको सीमा व्यापारबारे सोधिएको प्रश्नको जवाफ दिँदै जयसवालले सन् २०२५ अगस्ट १९ मा जारी गरिएको प्रेस विज्ञप्तिमा तीनवटा निर्धारित व्यापारिक नाकाबाट सीमा व्यापार सञ्चालन गर्ने सहमति भएको उल्लेख गरे।उनले भने, “दुवै पक्ष लिपुलेक, शिपकी ला र नाथू ला पास नामक तीनवटा निर्धारित व्यापारिक बिन्दुबाट सीमा व्यापार गर्न सहमत भएका थिए। उक्त निर्णय त्यतिबेलै लिइएको थियो र छलफलका क्रममा यसबारे जानकारी गराइएको थियो। अब सहमत भएका विषयलाई अगाडि बढाइँदैछ।”

भारत र चीनबीचको यो सहमतिपछि लिपुलेक नाकाको विषय पुनः चर्चामा आएको छ। नेपाल सरकारले भने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो अभिन्न भूभागका रूपमा दाबी गर्दै आएको छ।प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन। भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, सीमा व्यवस्थापनलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

१२ श्रावण २०८३, मंगलवार २१:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०