कपिलवस्तुको महाराजगन्जमा ट्रकको ठक्करबाट १२ वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डमा बुधबार बिहान भएको सवारी दुर्घटनामा १२ वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनापछि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
बुधबार बिहान करिब ७ः३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना. ५ ख २३६४ नम्बरको ट्रकले सडक किनारमा पार्किङ गरिएको नम्बर नखुलेको मोटरसाइकल र साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दुर्घटनामा महाराजगन्ज नगरपालिका–२ गैडहवाका आशिष कश्यपका १२ वर्षीय छोरा आनन्द कश्यप गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएकोमा बिहान ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, साइकलमा सवार महाराजगन्ज नगरपालिका–३ गनौरियाका अन्दाजी ४५ वर्षीय विजयकुमार गुप्ता र सोही स्थानका अन्दाजी ७५ वर्षीय भोल्लर कुर्मीको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रक चालक मोरङका ४२ वर्षीय रोहित राईलाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानबाट ट्रकले सडक किनारमा पार्किङ गरिएको मोटरसाइकल र साइकललाई ठक्कर दिएको खुलेको छ। दुर्घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।












