१४ श्रावण २०८३, बिहीबार
Follow us :

प्रचण्डको सरकारलाई आग्रह– संवाद, सहकार्य र राष्ट्रिय सहमतिबाट चुनौती समाधान गरौं

कान्तिपुर प्रेस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक, संसदीय दलका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा देखिएका जटिल समस्या र चुनौती समाधानका लागि सरकारले संवाद, सहकार्य र राष्ट्रिय सहमतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक तथा सामाजिक परिस्थिति चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि सबै राजनीतिक दलबीच सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।

प्रचण्डले सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा भएको विवाद र त्यसपछि भएको दुःखद् घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले सुरक्षा निकायको भूमिका र गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा निष्पक्ष, पारदर्शी तथा विस्तृत छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभयो।

उहाँले विगतका राजनीतिक सङ्कट, शान्ति प्रक्रिया र संविधान निर्माणका क्रममा सत्तापक्ष र प्रतिपक्षबीच भएको सहकार्यकै कारण मुलुकले निकास पाएको स्मरण गराउँदै संसद्मा दलहरूको सङ्ख्या भन्दा राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको प्रतिबद्धता र उपलब्धिको संरक्षण महत्वपूर्ण हुने बताउनुभयो।

प्रधानमन्त्री वालेन्द्र शाहलाई अनुभवी राजनीतिक नेतृत्व, विज्ञ तथा राजनीतिक दलसँग निरन्तर संवाद र सहकार्य गर्न सुझाव दिँदै उहाँले राष्ट्रिय सहमतिमार्फत वर्तमान चुनौतीहरूको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो।

देशमा बढ्दो हिंसा, आत्मदाह र हत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै प्रचण्डले नागरिकमा आशा र विश्वास जगाउने दायित्व राजनीतिक नेतृत्वकै भएको उल्लेख गर्नुभयो। साथै, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सीमा सुरक्षाका विषयमा आफ्नो अडान स्पष्ट रहेको बताउँदै सरकारले जनहितमा काम गरे पूर्ण समर्थन र जनविरोधी गतिविधि भए निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

१४ श्रावण २०८३, बिहीबार १५:२८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०