चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडी (BYD) ले जापानको अत्यन्त प्रतिस्पर्धात्मक ‘केई’ कार बजारमा औपचारिक प्रवेश गर्दै नयाँ विद्युतीय मिनी कार ‘राक्को ईभी’ (Rakko EV) सार्वजनिक गरेको छ। कम्पनीले जापानी ग्राहकको आवश्यकता र रुचिलाई लक्षित गरी विशेष रूपमा विकास गरेको यो बीवाईडीको पहिलो प्यासेन्जर कार हो।
जापानमा ‘केई’ कार सानो आकार, कम सञ्चालन खर्च, कर छुट तथा उच्च व्यावहारिकताका कारण अत्यन्त लोकप्रिय छन्। देशमा प्रत्येक वर्ष बिक्री हुने नयाँ सवारीसाधनमध्ये ३० प्रतिशतभन्दा बढी हिस्सा यही सेग्मेन्टले ओगट्ने भएकाले विदेशी कम्पनीका लागि यो बजारमा प्रवेश गर्नु चुनौतीपूर्ण मानिन्छ।
बीवाईडीका अनुसार ‘राक्को ईभी’ जापानी ग्राहकको सुझाव र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर नयाँ प्लेटफर्ममा विकास गरिएको हो। ‘राक्को’ जापानमा पाइने दुर्लभ समुद्री जीवको नामबाट प्रेरित भएर कारको नामकरण गरिएको कम्पनीले जनाएको छ।
कम्पनीले ‘राक्को ईभी’को प्रारम्भिक मूल्य २१ लाख ५० हजार जापानी येन निर्धारण गरेको छ भने शीर्ष भेरियन्टको मूल्य २५ लाख येन रहेको छ। सरकारी अनुदानपछि यसको मूल्य करिब २० लाख येन हाराहारीमा झर्ने अनुमान गरिएको छ।
शीर्ष भेरियन्टले एकपटकको पूर्ण चार्जमा ३२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ, जसले यसलाई जापानको ‘केई’ श्रेणीका विद्युतीय सवारीमध्ये सबैभन्दा बढी रेन्ज दिने मोडल बनाएको छ।
फिचरका हिसाबले यसमा फराकिलो क्याबिन, बढी हेडरुम, स्लाइडिङ डोर, आधुनिक डिजाइन तथा सबै भेरियन्टमा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) स्ट्यान्डर्ड रूपमा उपलब्ध छ। कम्पनीले यसलाई सफ्टवेयर–केन्द्रित अवधारणामा विकास गरिएको विश्वकै पहिलो ‘केई’ कार भएको दाबी गरेको छ।
हाल जापानको ‘केई’ ईभी बजारमा निसान साकुरा र होन्डा एन–वान ई: को वर्चस्व छ। यद्यपि, बीवाईडीले उच्च रेन्ज, आधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यमार्फत बजारमा स्थान बनाउने रणनीति लिएको जनाएको छ।
सन् २०२३ देखि जापानमा प्यासेन्जर कार बिक्री सुरु गरेको बीवाईडीले चालु वर्षको पहिलो ६ महिनामा २,३३४ वटा सवारी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो। कम्पनीले ‘राक्को ईभी’ सार्वजनिकसँगै जापानका ग्रामीण तथा साना सहरमा बिक्री र सेवा सञ्जाल विस्तार गर्ने योजना पनि अघि सारेको छ।












