काठमाडौं । दक्षिण कोरियाली अटोमोबाइल कम्पनी हुन्डाईको आयोनिक सिरिजअन्तर्गतको सबैभन्दा ठूलो इलेक्ट्रिक एसयूभी ‘आयोनिक नाइन’ नेपालमा सार्वजनिक भएको छ।
नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौंमा जारी नाइमा मोबिलिटी एक्स्पोमार्फत आयोनिक नाइनको बिक्री सुरु गरेको हो। कम्पनीले ७ सिट क्षमताको यो प्रिमियम एसयूभीको मूल्य २ करोड १९ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ।
लामो रेन्ज, आधुनिक प्रविधि, उच्चस्तरीय सुरक्षा प्रणाली र तीव्र चार्जिङ क्षमताका कारण आयोनिक नाइनले अन्तर्राष्ट्रिय बजारमा समेत चर्चा पाउँदै आएको छ।
६२० किलोमिटरसम्म रेन्ज
हुन्डाईको ई–जीएमपी प्लेटफर्ममा आधारित आयोनिक नाइनमा ८०० भोल्टको विद्युतीय आर्किटेक्चर प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले उच्च कार्यक्षमता, स्थिरता र राम्रो तौल सन्तुलन प्रदान गर्छ।
एसयूभीमा १६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरसहित ११० किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। डब्लूएलटीपी परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ६२० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।
चार्जिङतर्फ पनि आयोनिक नाइनलाई फास्ट चार्जिङका लागि तयार गरिएको छ। ३५० किलोवाट क्षमताको डीसी फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई करिब १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न २४ मिनेट जति समय लाग्ने कम्पनीको दाबी छ।
आरडब्लूडीदेखि एडब्लूडीसम्मको विकल्प
आयोनिक नाइन विभिन्न ड्राइभट्रेन विकल्पमा उपलब्ध छ। यसमा रियर ह्वील ड्राइभ (आरडब्लूडी) प्रणालीका साथै विकल्पका रूपमा डुअल मोटरसहितको अल ह्वील ड्राइभ (एडब्लूडी) प्रणाली पनि उपलब्ध छ।
तीव्र एक्सेलेरेसन, उच्च टर्क र सहज पावर डेलिभरीका कारण आयोनिक नाइनलाई प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरिएको छ।
एरोडाइनामिक डिजाइन
डिजाइनमा आयोनिक नाइनले हुन्डाईको नयाँ ‘एरो एस्थेटिक’ डिजाइन दर्शन पछ्याएको छ। एरोडाइनामिक बडी, पिक्सेल शैलीका एलईडी लाइट र क्लोज्ड–अफ ग्रिल यसको बाहिरी डिजाइनका प्रमुख विशेषता हुन्।
भित्री भागमा भने प्रिमियम र आरामदायी अनुभवलाई प्राथमिकता दिइएको छ। यसमा डुअल प्यानोरामिक डिस्प्ले, डिजिटल ककपिट, प्रिमियम सामग्री, आरामदायी सिट तथा मल्टिजोन क्लाइमेट कन्ट्रोल उपलब्ध छन्।
त्यस्तै, ओटीए सफ्टवेयर अपडेट, डिजिटल की, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडिएएस) र ३६० डिग्री क्यामेराजस्ता प्रविधि पनि आयोनिक नाइनमा समावेश गरिएको छ।
नेपालमा सार्वजनिक भएसँगै आयोनिक नाइनले नेपाली प्रिमियम इलेक्ट्रिक एसयूभी बजारमा हुन्डाईको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ।












