१९ कार्तिक २०८३, बिहीबार
Follow us :

सरकारका निर्णयमा अन्धसमर्थन गर्दैनौँ, आवश्यक परे खबरदारी गर्छौँ : रवि लामिछाने

चितवन क्षेत्र नम्बर २ मा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकार र पार्टीबीच ‘चेक एण्ड ब्यालेन्स’ आवश्यक रहेको बताए। पार्टीले सरकारका हरेक निर्णयमा होमा हो नमिलाउने र सरकारले पनि पार्टीका सबै गतिविधिमा समर्थन जनाउनुपर्ने बाध्यता नरहेको उनले स्पष्ट पारे।

कान्तिपुर प्रेस

काठमाडौँ ।  रास्वपा सभापति रवि लामिछानेले सरकारका सबै निर्णयमा पार्टीले अन्धाधुन्ध समर्थन नगर्ने बताएका छन्। सरकारले गरेका निर्णयमाथि प्रश्न उठे आवश्यक स्पष्टीकरण माग्ने र गलत कदम भए खबरदारी गर्ने उनको भनाइ छ।

चितवन क्षेत्र नम्बर २ मा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सरकार र पार्टीबीच ‘चेक एण्ड ब्यालेन्स’ आवश्यक रहेको बताए। पार्टीले सरकारका हरेक निर्णयमा होमा हो नमिलाउने र सरकारले पनि पार्टीका सबै गतिविधिमा समर्थन जनाउनुपर्ने बाध्यता नरहेको उनले स्पष्ट पारे।

हालैको प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनबारे सरकार र पार्टीका नेताहरूबाट आएका फरक धारणाका विषयमा उनले सुरक्षा निकायमा हुने नेतृत्व परिवर्तनको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताए।

उनले रास्वपाले आईजीपी, डीआईजी, प्रहरी निरीक्षक वा प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्न सरकारलाई दबाब नदिने स्पष्ट पारे। तर सरकारका निर्णयमाथि प्रश्न उठे त्यसको जवाफ माग्नु पार्टीको जिम्मेवारी भएको उनको भनाइ छ।

सरकारका पछिल्ला कारबाही र अनुसन्धानबारे उठेका प्रश्नमा लामिछानेले राज्यका अनुसन्धान निकाय संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्न स्वतन्त्र रहेको बताए। सुरक्षा संवेदनशीलता र प्रक्रियागत गोपनीयताका कारण केही विवरण तत्काल सार्वजनिक नहुन सक्ने भन्दै उनले अनुसन्धानसम्बन्धी अभिलेख सुरक्षित रहने र आवश्यक पर्दा बाहिर आउने दाबी गरे।

यसैबीच, प्रहरी सञ्चारमाध्यमको न्यूजरुममा प्रवेश गरेको घटनाप्रति पार्टीले गम्भीर ध्यानाकर्षण गराएको उनले बताए। यस विषयमा सरकारसँग स्पष्टीकरणसमेत मागिसकेको लामिछानेको भनाइ छ।

 

१९ कार्तिक २०८३, बिहीबार १९:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०