काठमाडौं । मौसमविदहरुले आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न सुझाव दिएका छन् ।
मौसमविदहरुका अनुसार आज रातिदेखि वर्षाको मात्रा र क्षेत्र बढ्दै जाने पूर्वानुमान छ । वैशाख १५ गतेको तुलनामा १६ गते बढी वर्षा हुने सम्भावना छ । काठमाडौं उपत्यकालगायत वरिपरिका क्षेत्रमा पनि आज बेलुकी र राति ठूलो वर्षाको सम्भावना छ ।
मौसमविद उज्वल उपाध्यायका अनुसार अहिलेको प्रणालीको प्रभावले काठमाडौं उपत्यका र आसपासका भूभागका साथै पूर्वी क्षेत्रको प्राय: सबै (मेचीसम्मको) भू–भागमा वर्षा गराउने छ ।
भोलि बुधबार र पर्सि विहीबार पनि पूर्व मेचीदेखि पश्चिम त्रिशूली–कालिगण्डकीसम्म बेला–बेलामा वर्षा भैरहने देखिन्छ । वर्षाका साना खोला खोल्सीहरुमा आकस्मिक बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जानसक्ने र बाटो अवरुद्ध हुनसक्ने सम्भावना छ ।
त्यसैले मौसमविद उपाध्यायको सुझाव छ, ‘त्रिभुवन राजमार्ग, पृथ्वी राजमार्गसँगै सिद्धार्थ, पासाङल्हामु, बीपी राजमार्गहरुमा मंगलबार, बुधबार र बिहीबार रातिको समयमा सकेसम्म यात्रा नगरौं ।’
कहाँकहाँ छ जोखिम ?
जल तथा मौसम विज्ञान विभागले वैशाख १५ गतेका लागि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्ला तथा वैशाख १६ गतेका लागि सबै सातवटै प्रदेशका जिल्लाहरुलाई पहेँलो रंगले संकेत गर्दै मौसमको अध्यावधिक जानकारी लिएर मात्रै आफ्नो काम गर्न सतर्क गराएको छ ।
विभागका मौसमविद सरोज पुडासैनीले वैशाख १५ र १६ गते दुई दिनसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँहरुमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिए । हिमाली भेगमा पनि मध्यम खालको हिउँ वा पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने उनले बताए ।
उनले भने, ‘वैशाख १५ र १६ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका बासिन्दाले मौसमबारे पछिल्लो जानकारी लिएर मात्रै काम गर्नुपर्ने हुन्छ ।’
उनका अनुसार वैशाख १५ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी वा हिउँ पर्ने सम्भावना छ ।
वैशाख १६ गते बुधबारको दिन पनि वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँहरुमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको पानी वा हिउँ पर्ने सम्भावना रहेको मौसमविद पुडासैनीले जानकारी दिए । यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरुमा पनि पानी वा हिउँ पर्ने सम्भावना छ ।
१६ गते बुधबार नै कोशी र मधेश प्रदेशका एक–दुई ठाउँहरुमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँमा भारी पानी पर्ने सम्भावना छ ।












