चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा प्रतिनिधिसभा सदस्य जगदीश खरेल ले खुला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गर्दै उनले पार्टीको परिवर्तनकारी अभियानलाई थप सुदृढ, संस्थागत र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
खरेलले रास्वपाले स्थापना कालदेखि नै अघि सारेको सुशासन, पारदर्शिता, जवाफदेहिता र पुराना राजनीतिक अभ्यासको विकल्पका रूपमा नयाँ राजनीतिक संस्कार को अभियानलाई संगठनभित्र अझ प्रभावकारी ढंगले संस्थागत गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। उनका अनुसार रास्वपा केवल निर्वाचन जित्ने माध्यम मात्र नभई जनताले खोजेको परिवर्तनको वाहक हो। संगठनलाई अझ लोकतान्त्रिक, उत्तरदायी र सदस्यमुखी बनाउने दिशामा आफ्नो भूमिका रहने उनले उल्लेख गरेका छन्।
पत्रकारिता क्षेत्रबाट सार्वजनिक जीवन सुरु गरेका खरेल सुशासन, सार्वजनिक उत्तरदायित्व र लोकतान्त्रिक मूल्य का पक्षमा निरन्तर आवाज उठाउने व्यक्तित्वका रूपमा परिचित छन्। सञ्चारकर्मीका रूपमा उनले राज्यका नीति, सेवा प्रवाह, सुशासन तथा जनसरोकारका विषयमा लामो समयदेखि कलम चलाएका थिए। पत्रकारितामार्फत समाज र राज्यका संरचनागत समस्या उजागर गर्दै सुधारका पक्षमा बहस सिर्जना गर्ने उनको भूमिकालाई सकारात्मक रूपमा स्मरण गरिन्छ।
राजनीतिसँगै अध्ययन र अनुसन्धानमा सक्रिय खरेल हाल विद्यावारिधि (PhD) अध्ययनको अन्तिम चरणमा रहेका छन्। सार्वजनिक नीति, शासन प्रणाली तथा समसामयिक राजनीतिक विषयमा उनको गहिरो रुचि र अध्ययनले उनलाई नीतिगत बहसमा तथ्यमा आधारित धारणा राख्ने नेताका रूपमा स्थापित गरेको समर्थकहरूको भनाइ छ।
पूर्व सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालिसकेका खरेलले राज्य संयन्त्र, नीति निर्माण प्रक्रिया तथा प्रशासनिक सुधार का विषयलाई नजिकबाट बुझेका छन्। जटिल विषयलाई गहिराइमा पुगेर विश्लेषण गर्ने, तथ्यका आधारमा निर्णय लिनुपर्ने पक्षमा वकालत गर्ने तथा संस्थागत सुधारलाई प्राथमिकता दिने उनको कार्यशैलीलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ।
रास्वपाको उदयसँगै नेपाली राजनीतिमा नयाँ पुस्ताको सहभागिता, सुशासनको माग र वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता विषयले व्यापक बहस पाएको छ। यही परिवर्तनको लहरलाई स्थायित्व दिन सक्षम, अध्ययनशील र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको भन्दै खरेलले आफूलाई त्यस अभियानको एक जिम्मेवार सहयात्रीका रूपमा प्रस्तुत गरेका छन्।
पार्टीका नेता–कार्यकर्तामाझ परिचित खरेलले संगठन विस्तार, जनचासोका विषय उठान तथा पार्टीको मूल एजेन्डालाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्दै उनले रास्वपालाई अझ बलियो, सक्षम र विश्वसनीय राजनीतिक शक्तिका रूपमा स्थापित गर्न आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्।
रास्वपाको आगामी नेतृत्व चयनलाई पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसर का रूपमा हेरिएको छ। यस्तो अवस्थामा केन्द्रीय सदस्य पदका उम्मेदवार खरेलले परिवर्तनको अभियानलाई निरन्तरता दिने, जनताको भरोसा जोगाउने र संगठनलाई थप सुदृढ बनाउने एजेण्डा सहित प्रतिनिधिहरूसामु आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।











