शेयर कारोबारमा थप १ प्रतिशत हस्तान्तरण शुल्क लगाउने प्रस्ताव सरकारपछि हटाउने तयारीमा पुगेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तावित कम्पनी ऐन, २०८३ मा समावेश गरिएको उक्त व्यवस्था फिर्ता लिने प्रक्रिया अघि बढाएको हो।
मस्यौदा सार्वजनिक भएपछि शेयर लगानीकर्ता, पूँजी बजारसँग सम्बन्धित सरोकारवाला तथा विभिन्न निकायबाट व्यापक विरोध भएपछि मन्त्रालय आफ्नो प्रस्ताव पुनर्विचार गर्न बाध्य भएको हो। प्रस्तावित मस्यौदाको दफा ८९ मा २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको शेयर खरिद–बिक्री वा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयमा अभिलेख गराउने क्रममा हक प्राप्त गर्ने व्यक्तिले कारोबार रकमको १ प्रतिशतका दरले शेयर हस्तान्तरण शुल्क तिर्नुपर्ने व्यवस्था राखिएको थियो।
तर, पूँजी बजारमा अनावश्यक आर्थिक भार थप्ने भन्दै चर्को आलोचना भएपछि मन्त्रालयले उक्त व्यवस्था हटाउने निर्णय प्रक्रिया अघि बढाएको जनाएको छ। यस निर्णयसँगै शेयर लगानीकर्ताले थप आर्थिक बोझबाट राहत पाउने अपेक्षा गरिएको छ।











