काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन प्रक्रिया भागबन्डा र समावेशिताको विषयमा सहमति जुट्न नसक्दा अलमलमा परेको छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच मनोनयनको संख्या र प्रतिनिधित्वका विषयमा छलफल जारी रहे पनि निष्कर्ष ननिस्कँदा ५१ जना मनोनीत केन्द्रीय सदस्य र १२ पदाधिकारीको पद अझै रिक्त रहेको छ।
महाधिवेशनबाट सभापति र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भए पनि विधानअनुसार सभापतिले मनोनयन गर्ने ५१ जना केन्द्रीय सदस्य तथा वरिष्ठ नेतासहित १२ पदाधिकारीको टुंगो लाग्न सकेको छैन। महाधिवेशनस्थलमै मनोनयन प्रक्रिया पूरा गर्ने तयारी रहे पनि सहमति नजुटेपछि निर्णय स्थगित भएको हो।
वरिष्ठ नेता शाह पक्षले मनोनयन हुने ५१ केन्द्रीय सदस्यमध्ये कम्तीमा आधा अर्थात् २५ जनाको सिफारिस गर्ने अवसर माग गरेको स्रोतको दाबी छ। यद्यपि, यस विषयमा अन्तिम सहमति नभएकाले शाह पक्षबाट हालसम्म औपचारिक नाम सिफारिस नभएको बताइएको छ।
रास्वपाका महामन्त्री विपिन आचार्यले सभापतिले मनोनयनका विषयमा आवश्यक परामर्श गरिरहेको र आगामी केन्द्रीय समिति बैठकबाट केही पदमा मनोनयन हुन सक्ने बताएका छन्। उनका अनुसार विधानले दिएको अधिकारअनुसार सभापतिले उपयुक्त समयमा निर्णय लिनेछन्।
सहमहामन्त्री असिम शाहले पनि सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहबीच छलफलपछि मनोनयन प्रक्रिया टुंगिने बताए। उनले पार्टीमा कायम रहेको महिला प्रतिनिधित्व र समावेशितालाई समेत ध्यानमा राखेर निर्णय गरिने स्पष्ट पारे।
महाधिवेशनबाट सभापति रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य तथा सहमहामन्त्रीमा असिम शाह, निशा डाँगी र हरि ढकाल निर्वाचित भएका छन्। अहिले वरिष्ठ नेतासहित एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष गरी १२ पद रिक्त छन्।
रास्वपा नेतृत्वमा मनोनयनबाट आउने उपसभापति वरिष्ठ नेता शाह पक्षबाट हुने समझदारी रहेको बताइए पनि त्यसका लागि कसलाई अघि सार्ने भन्ने निर्णय भने अझै भएको छैन।











