ललितपुर। गोदावरी नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, बालुवा, माटो लगायतका खानी तथा क्रसर उद्योगहरू साउन १ गतेदेखि अर्को सूचना जारी नभएसम्म बन्द रहने जनाएको छ।
नगरपालिकाले मंगलबार सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ मा अदालतको अन्तरिम आदेशका आधारमा नवीकरण भई सञ्चालनमा रहेका उद्योगहरूको नवीकरण अवधि असार मसान्तसँगै समाप्त हुने भएकाले साउन १ गतेदेखि सबै सम्बन्धित उद्योग सञ्चालन गर्न नपाइने स्पष्ट पारेको हो।
सूचनाअनुसार अर्को व्यवस्था नभएसम्म उद्योग सञ्चालन गरे प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।
उक्त सूचना प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काद्वारा जारी गरिएको हो।












