१० श्रावण २०८३, आईतवार
Follow us :

लुम्बिनी सरकारबाट कांग्रेसको बहिर्गमन आज, एमाले–नेकपा गठबन्धनले नयाँ सरकार बनाउने बाटो खुल्यो

कान्तिपुर प्रेस

लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आज सामूहिक रूपमा राजीनामा दिने भएका छन्। नेकपा (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएपछि कांग्रेस सरकारबाट बाहिरिने तयारीमा पुगेको हो।

नेपाली कांग्रेसको केन्द्रीय समितिले यसअघि नै एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्ने निर्णय गरिसकेको भए पनि लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूले तत्काल राजीनामा दिएका थिएनन्। तर शनिबार एमाले र नेकपाबीच सातै प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसका मन्त्रीमाथि सरकार छाड्ने नैतिक दबाब बढेको छ।

हाल लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा कांग्रेसका पाँच मन्त्री सहभागी छन्। शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवारले सरकारमा कांग्रेसको प्रतिनिधित्व गरिरहेका छन्।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले एमालेले नेकपासँग सत्ता सहकार्यको औपचारिक सहमति गरेपछि कांग्रेस सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताएका छन्। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले पनि पार्टीको निर्देशन प्राप्त हुनासाथ सामूहिक रूपमा राजीनामा दिने जानकारी दिएका छन्।

कांग्रेस सरकारबाट बाहिरिएसँगै लुम्बिनीमा एमाले–नेकपा गठबन्धनको नयाँ सरकार गठन हुने सम्भावना बलियो बनेको छ। ८७ सदस्यीय प्रदेशसभामा हाल ८३ सांसद कायम छन्। एमालेका २९ र नेकपाका १३ (सभामुखसहित) सांसद गरी ४२ सदस्य पुग्ने भएकाले गठबन्धनले बहुमत हासिल गर्ने अवस्था देखिएको छ। साथै पूर्व माओवादी पृष्ठभूमिका स्वतन्त्र सांसद खड्गबहादुर बस्नेतले पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने विश्वास दुवै दलले गरेका छन्।

यससँगै लुम्बिनी प्रदेशको सत्ता समीकरणमा नयाँ अध्याय सुरु हुने संकेत देखिएको छ।

१० श्रावण २०८३, आईतवार १०:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०