१२ श्रावण २०८३, मंगलवार
Follow us :

सुर्खेतमा यात्रुबाहक मुस्ताङ जिप दुर्घटना, १२ जना घाइते; चार जनाको अवस्था गम्भीर

उकालोमा अनियन्त्रित भएर पल्टियो जिप

कान्तिपुर प्रेस

सुर्खेत । सुर्खेतको लेकबेँसी नगरपालिका–५ र ६ को सिमानामा पर्ने हलकण्डरामा यात्रुबाहक जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

हलकण्डरा डाँडागाउँबाट दशरथपुरतर्फ जाँदै गरेको भे १ ख ५४० नम्बरको मुस्ताङ जिप सोमबार बिहान करिब १० बजे उकालो सडकमा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

दुर्घटनामा जिपमा सवार १२ जना यात्रु घाइते भएका हुन्। घाइतेमध्ये लेकबेँसी नगरपालिका–६ सुर्खेतका २२ वर्षीया सुष्मा कार्की, ७० वर्षीया अमृता कार्की, २६ वर्षीया तिल्सरा सिरिस र ७० वर्षीया खगीसरा विकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गम्भीर घाइते चारै जनाको छाती, ढाड तथा शरीरका भित्री अङ्गमा चोट लागेको छ। उनीहरूलाई थप उपचारका लागि सुर्खेतस्थित माया नर्सिङ होममा पठाइएको छ।

अन्य घाइतेमध्ये केहीको उपचार सोही नर्सिङ होममा भइरहेको छ भने सामान्य घाइतेको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

१२ श्रावण २०८३, मंगलवार १३:४३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०