१२ श्रावण २०८३, मंगलवार
Follow us :

सभामुख अर्यालको पहलमा दलहरूसँग छलफल, प्रभावकारी संसद् सञ्चालनमा जोड

संसद्को गरिमा कायम गर्दै पर्याप्त ‘बिजनेस’ र विधेयक ल्याउन दलहरू सहमत

कान्तिपुर प्रेस

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आगामी संसद् बैठकलाई प्रभावकारी, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गर्ने विषयमा विभिन्न राजनीतिक दलका मुख्य सचेतक तथा सचेतकहरूसँग छलफल गर्नुभएको छ।

मंगलबार भएको छलफलमा साउन १४ गतेदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलाई परिणाममुखी बनाउने, सरकारले पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने तथा संसद्को गरिमा र मर्यादा कायम राख्ने विषयमा विस्तृत छलफल भएको हो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले संसद्को मूल्य–मान्यता र मर्यादा कायम राख्दै जनताको अपेक्षा सम्बोधन गर्ने गरी सदन सञ्चालन गर्न सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभयो। उहाँले सरकारले पर्याप्त ‘बिजनेस’ उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिँदै दसैँअघिसम्म नियमित रूपमा सदन सञ्चालन गर्ने विषयमा समेत छलफल भएको उल्लेख गर्नुभयो।

उहाँका अनुसार शून्य र विशेष समयमा उठाइने विषयलाई थप मर्यादित र प्रभावकारी बनाउनेबारे पनि सहमति खोजिएको छ।

नेपाल कम्युनिस्ट पार्टीका सचेतक युवराज दुलालले सरकारले विधेयक ल्याउने प्रतिबद्धता जनाए पनि हालसम्म दर्ता हुन नसकेको विषयमा ध्यानाकर्षण गराउँदै आवश्यक विधेयक तत्काल संसद्मा ल्याउन पहल गर्नुपर्ने धारणा राख्नुभयो।

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले दुई साताको विश्रामपछि सुरु हुने संसद् बैठकलाई प्रभावकारी बनाउन पर्याप्त विधेयकसहितको कार्यसूची तयार गर्ने विषयमा छलफल भएको बताउनुभयो। उहाँले सत्तापक्ष र विपक्षीबीचका असहमतिमा केही दिनभित्र सहमति जुट्ने विश्वास व्यक्त गर्दै संसद्लाई शान्तिपूर्ण र परिणाममुखी बनाउने वातावरण निर्माण भइरहेको जानकारी दिनुभयो।

१२ श्रावण २०८३, मंगलवार १६:५६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०