देशभर २४ घण्टामा ४२ विपद्का घटना हुँदा तीन जनाको मृत्यु, २१ जना घाइते भएका छन्। सबैभन्दा बढी सर्पदंश र पहिरोका घटना दर्ता भएका छन्।
देशका विभिन्न भागमा पछिल्लो २४ घण्टामा विभिन्न प्रकारका ४२ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन ११ गते बिहान १०ः०० बजेदेखि साउन १२ गते बिहान १०ः०० बजेसम्मको अवधिमा १० जिल्ला विपद्बाट प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार उक्त अवधिमा १२ वटा सर्पदंश, १२ वटा पहिरो, सात आगलागी, छ अविरल वर्षा, तीन जनावरको आक्रमण, एक बाढी तथा एक भूकम्पको घटना दर्ता भएका छन्। घटनामा कोही पनि बेपत्ता नभएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार ती विपद्का घटनाबाट करिब रु ९ लाख २२ हजार ५०० बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। मनसुन सक्रिय भएसँगै पहिरो, बाढी र सर्पदंशका घटना बढ्दै गएको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, चालु वर्षको वैशाख १ गतेदेखि साउन १२ गते बिहानसम्म देशभर तीन हजार ७८८ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा परी १९२ जनाको मृत्यु, तीन जना बेपत्ता तथा एक हजार १३९ जना घाइते भएका छन्।
सोही अवधिमा पाँच हजार चार परिवार विभिन्न प्रकारका विपद्बाट प्रत्यक्ष प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।












