सुनसरीलगायतका जिल्लामा हालै भएका संवेदनशील घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आठ राजनीतिक दलले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकपछि दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन्।
संयुक्त विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
दलहरूले नेपालको विविधताभित्र रहेको एकता, सहिष्णुता र सामाजिक सद्भाव कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन नागरिकलाई आग्रह गरेका छन्। उनीहरूले समस्या समाधानका लागि आवेग र उत्तेजनाभन्दा शान्तिपूर्ण संवाद तथा सहमतिको बाटो अपनाउनुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमार्फत प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न सम्बन्धित पार्टीका स्थानीय समितिलाई निर्देशन दिइएको उल्लेख छ। साथै धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरी शान्ति कायम गर्न पहल गर्न आग्रह गरिएको छ।
दलहरूले संवेदनशील अवस्थामा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाह नफैलाउन नागरिक तथा सञ्चारमाध्यमलाई अपिल गरेका छन्।
संयुक्त विज्ञप्तिमा नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिका पक्षमा सहकार्य गर्ने बताएका छन्।
संयुक्त विज्ञप्तिमा रास्वपाका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरूको हस्ताक्षर रहेको छ।














