काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिका सांसदहरूले निर्वाचन प्रणालीलाई कम खर्चिलो, पारदर्शी र सहज बनाउनुपर्नेमा जोड दिएका छन्।
सिंहदरबारस्थित समितिको बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा सांसदहरूले विदेशमा रहेका नेपालीको मतदान अधिकार सुनिश्चितता, ‘नो भोट’ व्यवस्था, अन्तरजिल्ला मतदान, निर्वाचनमा प्रविधिको प्रयोगलगायत विषयमा चासो राखेका हुन्।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगको नेतृत्व संविधान र कानुनले दिएको अधिकारमा मात्र सीमित नभई निर्वाचन प्रक्रियालाई कम खर्चिलो र प्रभावकारी बनाउने दिशामा अघि बढ्नुपर्ने सुझाव दिनुभयो। उहाँले सुशासनको पहिलो आधार राजनीतिक दल भएकाले दलहरूको पुनःसंरचना आवश्यक रहेको बताउनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले निर्वाचन प्रणाली सुधार, ‘नो भोट’ को कार्यान्वयन, निर्वाचन खर्चको पारदर्शिता र चन्दादाताको पहिचानका विषयमा प्रश्न गर्नुभयो।
नेकपा (एमाले) का सांसद डा प्रेमप्रसाद दङ्गालले विदेशमा रहेका नेपालीको मतदान सुनिश्चित गर्ने तयारी, कृत्रिम बुद्धिमत्ता र अल्गोरिदमजस्ता प्रविधिको प्रयोगमा निर्वाचन आयोगले प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
अन्य सांसदहरूले पनि युवाको मतदान सहभागिता वृद्धि, दुर्गम क्षेत्रको निर्वाचन सुरक्षा, समावेशिता र संवैधानिक आयोगको स्वतन्त्र भूमिकाका विषयमा सुझाव दिएका थिए। सांसदहरूले निर्वाचन आयोग ठूलो दलको प्रभावबाट मुक्त भएर निष्पक्ष निर्वाचन गराउने संस्थाका रूपमा बलियो बन्नुपर्नेमा जोड दिए।











