१४ श्रावण २०८३, बिहीबार
Follow us :

दुई अटो शो, आठ नयाँ बाइक–स्कुटर! नेपाली बजारमा आउँदैछन् नयाँ पुस्ताका सवारी

नाइमा र नाडा अटो शोमा आठ नयाँ दुईपांग्रे सवारीको डेब्यु, ईभीदेखि एड्भेन्चर बाइकसम्म प्रतिस्पर्धा

कान्तिपुर प्रेस

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा आगामी दुई ठूला अटो शोमार्फत दुईपांग्रे सवारीका नयाँ मोडलहरू सार्वजनिक हुने भएका छन्। साउन र भदौमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ लाई लक्षित गर्दै विभिन्न कम्पनीले आठ नयाँ मोटरसाइकल तथा स्कुटर बजारमा ल्याउने तयारी गरेका छन्।

यी अटो शोमा विद्युतीय स्कुटर, प्रिमियम मोटरसाइकल र एड्भेन्चर सेग्मेन्टका नयाँ मोडल सार्वजनिक हुनेछन्। प्रारम्भिक जानकारीअनुसार यात्री पी२, अल्ट्राभोइलेट एक्स४७, हिरो भिडा, टीभीएस आरटीएक्स ३००, यामाहा एक्सएसआर १५५, मोर्बिडेली २५० एड्भेन्चर तथा बजाज चेतकका दुई नयाँ भेरियन्ट चेतक २५०१ र चेतक ३५०३ नेपाली बजारमा प्रवेश गर्ने तयारीमा छन्।

नेपालमै डिजाइन तथा निर्माण गरिएको विद्युतीय स्कुटर यात्री पी२ नाइमा मोबिलिटी एक्स्पोको प्रमुख आकर्षण बन्ने अपेक्षा गरिएको छ। यात्री र सिप्रदी ट्रेडिङको सहकार्यमा तयार भएको यो स्कुटरले बढ्दो विद्युतीय सवारीको मागलाई लक्षित गर्नेछ।

त्यस्तै, प्रिमियम विद्युतीय मोटरसाइकलतर्फ अल्ट्राभोइलेट एक्स४७ ले नेपाली बजारमा डेब्यु गर्ने भएको छ। वैद्यज् अर्गनाइजेसनले यसलाई नाइमा एक्स्पोमा सार्वजनिक गर्ने तयारी गरेको छ।

विद्युतीय स्कुटर बजारमा हिरो मोटोकर्पको ईभी ब्रान्ड भिडा पनि नेपाल प्रवेश गर्ने भएको छ। सीजी मोटर्सले भिडा स्कुटरलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

यता, टीभीएसले आफ्नो पहिलो एड्भेन्चर मोटरसाइकल आरटीएक्स ३०० सार्वजनिक गर्ने तयारी गरेको छ भने यामाहाको रेट्रो डिजाइनयुक्त एक्सएसआर १५५ पनि नाडा अटो शोमार्फत बजारमा आउने सम्भावना छ।

बजाजले पनि चेतक विद्युतीय स्कुटरको दायरा विस्तार गर्दै चेतक २५०१ र चेतक ३५०३ भेरियन्ट ल्याउने तयारी गरेको छ।

दुई साताको अन्तरालमा आयोजना हुने यी दुई अटो शोले नेपाली दुईपांग्रे बजारमा नयाँ प्रविधि, विद्युतीय सवारी र प्रिमियम मोटरसाइकलबीचको प्रतिस्पर्धा थप बढाउने अपेक्षा गरिएको छ।

१४ श्रावण २०८३, बिहीबार १६:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०