१५ श्रावण २०८३, शुक्रबार
Follow us :

विद्युतीय चुलो कार्यक्रमका लागि स्थानीय तहसँग आवेदन माग

वैकल्पिक ऊर्जा केन्द्रद्वारा लागत साझेदारीमा स्वच्छ ऊर्जा प्रवर्द्धन कार्यक्रम, भदौ ४ भित्र आवेदन दिन आग्रह

कान्तिपुर प्रेस

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३/८४ का लागि स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुलो) प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न स्थानीय तहबाट आवेदन आह्वान गरेको छ।केन्द्रले साउन १५ गते सार्वजनिक सूचना जारी गर्दै लागत साझेदारीमा आधारित कार्यक्रममा सहभागी हुन इच्छुक स्थानीय तहलाई आगामी भदौ ४ गतेभित्र आवेदन पेश गर्न आग्रह गरेको हो।

केन्द्रका अनुसार खाना पकाउने इन्धनका रूपमा स्वच्छ ऊर्जाको प्रयोग बढाउने तथा विद्युतीय चुलोको पहुँच विस्तार गर्ने उद्देश्यले विगतका वर्षदेखि नै यस्तो कार्यक्रम सञ्चालन हुँदै आएको छ।कार्यक्रममा सहभागी हुन चाहने स्थानीय तहले केन्द्रको वेबसाइटबाट आवेदन फाराम डाउनलोड गरी आवश्यक कागजातसहित पेश गर्नुपर्नेछ। आवेदनसँगै लागत सहभागिताको प्रतिबद्धता पत्र, वडा कार्यालयबाट आउने प्रस्तावका हकमा सम्बन्धित पालिकाको सिफारिस तथा आवश्यक विद्युतीय चुलोको संख्या सुनिश्चित गरिएको विवरण पनि समावेश गर्नुपर्नेछ।

त्यस्तै, प्रस्तावित क्षेत्रमा विद्युतीय चुलो सञ्चालनका लागि आवश्यक विद्युत् पूर्वाधार, जस्तै ट्रान्सफर्मर र वितरण लाइन पर्याप्त रहेको पुष्टि गर्ने नेपाल विद्युत् प्राधिकरणको सम्बन्धित वितरण केन्द्रको सिफारिस पत्र अनिवार्य गरिएको छ।

केन्द्रले हरित जलवायु कोष (Green Climate Fund) को सहयोगमा तराईका २२ जिल्लामा छुट्टै स्वच्छ ऊर्जा कार्यक्रम (CCS) सञ्चालन भइरहेकाले ती जिल्लाबाहेकका स्थानीय तहले मात्र यस कार्यक्रममा आवेदन दिन सक्ने जनाएको छ।

तोकिएको समयसीमाभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्ने स्थानीय तहसँग समन्वय गरी विद्युतीय चुलो प्रवर्द्धन कार्यक्रम कार्यान्वयन गरिने केन्द्रले जनाएको छ। यस कार्यक्रमले स्वच्छ ऊर्जा प्रयोग बढाउनुका साथै एलपी ग्यासमा निर्भरता घटाउने र वातावरण संरक्षणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

१५ श्रावण २०८३, शुक्रबार ०७:३५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०